सूचना क्रान्ति र हाम्रो भविष्य
बीसौ शताब्दीको अन्तिम महिनामा वासिंगटनमा भेला भएका अमेरिकी भविष्यविद्हरुले के भविष्यवाणी गरे भने आगामी चौथाइ शताब्दीलाई सूचना क्रान्तिले डो¥याउने छ । सूचना क्रन्तिले सम्पूर्ण संचार व्यवस्था तथा अर्थतन्त्रलाई प्रभावित पार्दै मानव जीवनका हरेक पक्षमा प्रवेश गर्नेछ ।
सन् १९६६ मा स्थापित विश्व भविष्य समाजमा असी देशका वैज्ञानिकहरु, विभिन्न विषयका विशेषज्ञहरु तथा पूर्व राजनीतिक नेताहरु समेत तीस हजार सदस्य छन् । यसका अध्यक्ष एडवार्ड कोर्निस भन्छन्, “अठारौ शताब्दिमा कृषि अर्थतन्त्रलाई औद्योगिक क्रान्तिले रुपान्तरित गरेजस्तै सूचना क्रन्तिले वर्तमान अर्थतन्त्रलाई रुपान्तरित गर्दैछ ।”
सूचना क्रान्तिको थालनी झण्डै एक दशकअघि इन्टरनेटको प्रारम्भबाट भएको थियो । यसका मूख्य चार वटा विशेषता छन् ः विकेन्द्रीकरण (decentralization), विश्वीकरण (universalization), सामन्जस्यीकरण (harmonization) र व्यक्तिव्यक्तिलाई शक्ति हस्तान्तरण (devolution) ।
नयाँ आर्थिक व्यवस्थाको उल्लेखनिय पक्ष के हो भने यो निरन्तर परिवर्तनशील छ । यो व्यवस्थामा ज्ञान ९पलयधभिमनभ० नै प्रमुख संसाधन बनेको छ । कोर्निस भन्छन्, “ज्ञान अति द्रुत गतिले संसारकै सबैभन्दा बहुमूल्य साधन बन्दैछ । यसले सम्पत्तिको सृजना गर्दैछ । यसअघिको आर्थिक आधार बनेको भूमि, श्रम, इन्धन र पूँजीको ठाउँ ज्ञानले लिदैछ । सूचनाको निर्वाध प्रवाहलाई रोक्न खोज्ने देशहरुले आफैलाई अविकसितताको अवस्थातिर धकेल्नेछन् ।”
संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडीपीको अध्ययनले पनि के स्पष्ट पारेको छ भने “ज्ञानको गरिबी” एक्काइसौँ शताब्दीको सबैभन्दा घातक गरिबी हुनेछ । उक्त अध्ययनका अनुसार सूचना क्रान्तिलाई अगाडि बढाउने तीन तत्व छन् ः अति द्रुत गतिले परिवर्तन भइरहेको प्रविधि, अति उच्च गतिको कार्य सम्पादन क्षमता र घट्दो मूल्य । उदाहरणका लागि संचार प्रविधिको आधार बनेको चिपको क्षमता हरेक वर्ष दुई गुना बढ्दैछ भने यसको मोल तीन गुना घट्दैछ ।
आजको युग सूचना प्रविधिको युग हो । यसमा कुनै शंका छैन । अहिले नेपालमा पनि सूचना प्रविधि, सूचना तथा सञ्चार प्रविधि, डिजिटल प्रविधि, मल्टिमिडिया, इन्टरनेट, साइबरस्पेस, अनलाइन पत्रकारिता, इकर्मस, इगभर्नेन्स, इलर्निङ, आदि प्राविधिक शब्दावलीहरुको व्यापक प्रयोग भइरहेको छ । वास्तवमा सूचना र संचार प्रविधिको विषय बौद्धिक तथा प्राविधिक व्यक्ति वा विशेषज्ञहरुबीच सीमित नभएर कृषिलगायत सबै प्रकारका व्यवसाय, क्षेत्र, छलफल, गोष्ठी, सभा, सम्मेलन र दैनिक जीवनका विभिन्न क्षेत्रमा उपयोग हुन थालेको छ । नीति निर्माता, नेता, अभिनेता, उद्योगी, व्यापारी, विद्यार्थी, शिक्षक, गृहीणी, किसान, विकासे कार्यकर्ता देखि लिएर आम जनताको समेत सरोकारको विषय भइसकेको छ यो विषय । यसको बारेमा थाहा पाउनु मात्रै होइन यसबारे विचार पोख्नसक्नु पनि सामाजिक क्षेत्रमा काम गर्ने सबैका लागि आवश्यक भइसकेकोछ ।
विनयकुमार कसजु
सूचना प्रविधिको शक्ति र नेपालमा यसको उपयोग