सन् २०३५ मा हामी के पढाइरहको हुनेछौ ?
सन् २०३५ आउन २३ वर्ष बाँकी छ । अघिल्लो २३ वर्षका तुलनामा संसारको प्रगतिको गति आउँदो २३ वर्षमा निश्चय नै निकै बढी हुनेछ । त्यसबेला हामी भने कक्षा कोठामा के र कसरी पढाइरहेका हुनेछौं ? अहिले हामीसित दुई दशक अगाडि कल्पना पनि नगरेका कुरा उपलब्ध छन् । घरघरमा र स्कूलस्कूलमा कम्प्युटर पुग्ला भनी चिताइएको थिएन् अहिले कम्प्युटर हातहातमा छन् । त्यसबेला तारवाला फोन पाउन पनि गाह्रो थियो र मोबाइल फोनको विकास भर्खरै हुँदै थियो अहिले मोबाइल बिनाको जीवन कल्पना गर्न गाह्रो भइसक्यो । इन्टरनेट प्रविधिका बारेमा हामीलाई थाहा पनि थिएन; अहिले त्यो शिक्षाको अभिन्न अंग भएको छ । यस्ता विषय र क्षेत्र अनेक छन् । अतः सन् २०३५ मा हामी के पढाइरहेका हुनेछौं त ? स्पूफ (http://www.thespoof.com) ले यो प्रश्न भविष्यविद (futurologist) जेम्स र्यान्डीलाई सोध्यो ।
“शिक्षाको क्षेत्र आमूल परिवर्तनको दिशामा अग्रसर छ । परिवर्तनलाई आत्मसात गर्न र प्राविधिक कुरा सिक्न नसक्ने व्यक्ति चाहे शिक्षक होस् वा अन्य उसलाई साँच्चै नै गाह्रो हुनेछ । तर शिक्षा क्षेत्रमा सबभन्दा गाह्रो कुरा के छ भने, अहिले ३५ वर्ष पुगेका शिक्षकहरू, जो अहिले नै आफूलाई प्रविधि नजान्ने भन्न रूचाउँछन् उनीहरू त्यसबेला पनि पढाइ नै रहेका हुनेछन्”, र्यान्डी भन्छन् । उनी अगाडि थप्छन्, “मैले कलेज पढ्दा ब्ल्याकबोर्ड मात्र थियो, ह्वाइटबोर्ड, ओभरहेड प्रोजेक्टर, एलसीडी गर्दै अब कम्प्युटराइज्ड बोर्डहरू आएका छन् । यो परिवर्तन डिस्प्लेमा मात्र आएको होइन, त्यसमा लेख्ने कुरा पनि त्यसै अनुसारका हुनुपर्छ र त्यसका लागि शिक्षकहरू तयार हुनै पर्छ ।” र्यान्डीले भने जस्तै, परिवर्तनको बाढी नै आउँदैछ । ज्ञानका स्रोतहरूमा परिवर्तन आएको छ र विद्यार्थीहरू आफैं नै पाठ्यपुस्तकको निर्माण गर्न थालेका छन् । अहिले नै सम्हाल्न नसकिने ठानिएका विद्यार्थीहरूलाई उनीहरूको आवश्यकता र अपेक्षा अनुसार पढाउन नसक्ने शिक्षकहरूले कुनै हालतमा सम्हाल्न सक्ने छैनन् । शिक्षक र विद्यार्थीहरूका बीचमा द्वन्द्व बढने निश्चित छ ।
के गर्ने त ?
भविष्यविद् जेम्स र्यान्डीले त प्रविधि मैत्री रुपमा बदलिन नचाहने शिक्षकहरूलाई ५० वर्षमै अवकाश दिने सल्लाह दिएका छन् ।